कान्तिपुर दैनिकमा प्रकाशित आक्षेपको समितिद्वारा खण्डन
वि.सं . २०८० साल कार्तिक २ गते विहिवार जनप्रिय पत्रिका कान्तिपुर दैनिक को पृष्ठ ६, दृष्टिकोण शीर्षक अन्तर्गत सम्पादकलाई चिठी उपशीर्षकमा प्रकाशित “हचुवामा टीकाको साइत” भन्ने शीर्षकका विषयहरूमा यस नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गम्भीर ध्यानाकर्षण भएको छ । अपम्परागत एवं अशास्त्रीय र अमर्यादित उक्त आक्षेपको विषयमा निम्नानुसार यस समिति खण्डन गर्दछ ।
आक्षेप नं. १.
विहान ११।२ बजे धनु लग्न र कुम्भ राशि बनाएर साइत दिएको ।
खण्डन नं. १
कार्तिक ७ गते मङ्गलवारका दिन
प्रातरावाहयेद् देवीं प्रतरेव प्रवेशयेत् ।
प्रातः प्रातश्च स पूज्य प्रातरेवविसर्जयेत् ।।
(–निर्णयसिन्धु)
यो शास्त्रीय वचन अनुसार बिहान देवी विसर्जन गरी बिहान नै देवीप्रसादको रूपमा अभिषेक लिने, टीका लगाउने, प्रसाद ग्रहणगर्नु पर्ने भएकोले बिहान धनु लग्न र मिथुन नवमांश शुद्ध भै वारवेला अनुसार पनि लाभ वेला परेकोले ज्योतिषको साइत निर्धारण गर्ने नियम पुगेको छ । यसमा कुनै त्रुटि छैन । श्रवण नक्षत्र परेमा मकरको चन्द्रमाको प्राशस्त्य रहेपनि यो कहिले पर्छ कहिले पर्दैन । हाम्रो परम्परा तिथि प्रधान हो । नक्षत्र प्रधान होइन । जस्तैः-
सूर्योदयो यदा राजन् दृश्यते दशमी तिथेः
अश्विने मासि शुक्ले तु विजयां तां विदुर्बुधाः
(— कृत्यवाटिका)
यां तिथिं समुनुप्राप्य उदयं याति भास्करः
सा तिथि सकला ज्ञेया दानाध्ययन कर्मसु ।
आक्षेप नं. २.
विजयोत्सव सन्ध्याकालमा पर्छ । यसमा गरेकोकाम सिद्ध हुन्छ यसकारण सन्ध्याकालमा टीक लगाउनु ठिक भएकोले विहान टीका लगाउनु ठिक छैन ।
खण्डन नं. २
विजय योग र देवी प्रसाद ग्रहण गर्ने विषय(टीका) भिन्दा भिन्दै हुन् । विजययोगको मतलव विजया दशमीको दिन विजय यात्रा गर्ने शुभ साइत हो भने टीकाको अर्थ भने गुरू पुरोहित वा मान्यजनबाट शुभाशीर्वाद ग्रहण गरी देवीको प्रसाद लगार्इ माग्नु हो । यसकारण देवी प्रसाद ग्रहण गर्ने साइतलाई विजय योग सित तुलना गर्नु मनासिव देखिन्न ।
आक्षेप नं. ३
दशमी उप्रान्त एकादशी परेमा श्रवण नक्षत्रमा विजय योग पर्ने भएकोले कार्तिक ६ गते उक्त स्थिति परेकोले नवमी तिथिमा नै टीका लगाउनु टिक भएकोले कार्तिक ७ गते टीका लगाउनु ठीक छैन ।
खण्डन नं. ३
प्रसाद ग्रहणको साइत र विजय योगको साइत भिन्दा भिन्दै भएकोले प्रसाद ग्रहणको साइतलाई विजय योगसित मिलाउनु ठिक छैन ।
आक्षेप नं. ४
धनिष्ठा नक्षत्रमा साइत दिइएको ।
खण्डन नं. ४
विजया दशमीको दिन कुनै वर्ष श्रवण र कुनै वर्ष धनिष्ठा नक्षत्र पनि पर्न सक्छ । अतः धनिष्ठा नक्षत्रमा किन साइत दिएको भन्नु पञ्चाङ्ग गणनाको आधार विचार गर्न नसक्नु हो ।
अतः धर्मशास्त्रका विशिष्ट विद्वान, नेपाली परम्परा र संस्कृतिविज्ञ तथा सिद्धान्त तथा फलित विज्ञ ज्योतिषीहरू रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको कार्तिक ७ गते मङ्गलवार विहान ११।२ बजेको टीकाको साइत शुभ र लाभप्रद भएकोले निर्धक्क भई कुनै भ्रममा नपरी सोही साइतमा दशैको टीका लगाउन सबैमा हार्दिक अनुरोध गरिन्छ ।