हाम्रो बारेमा
हामी समस्त नेपालीहरूको धर्म, संस्कृति मूल्य,मान्यता र परम्पराको संवाहक र निर्देशक कार्यतालीका भनेको पात्रो हो । पात्रो अर्थात पञ्चाङ्ग भन्नाले सामान्यतया तिथि, वार,नक्षत्र,योग, करण यी ५ विषयको बोध हुन्छ । तर आजकाल पात्रोमा उल्लिखित फलित, ज्योतिष, धर्मशास्त्र र नेपाली संस्कृतिपरक सबै विषयको यथार्थ ज्ञान गर्ने हो भने साधारण मानिस पनि ज्योतिषी र कर्मकाण्डी बन्न सक्दछ । यसकारण पात्रोको महत्व झन्–झन् बढ्दो छ र यसमा रखिने विषयहरू पनि समावेशिक लोकातन्त्रात्मक अवधारणा अनुसार विषयवस्तुहरू पनि बढ्दै छन् । यसलाई आ–आफ्नो साँस्कृतिक जागरणको मूर्तरूप मान्न करै लाग्दछ ।
हाम्रो इतिहास
धर्मशास्त्रका विद्वान पं. हरिनाथ गौतमको भनाई अनुसार “संवत् १९४६ मा पं. तोयानाथ पन्तले पात्रो छपाए । निजको सो पात्रो हालसम्म निरन्तर रूपमा छापिर्दै आएको छ । हाल सो पात्रोेको प्रकाशन श्री सूर्यनाथ पन्तद्वारा हुँदैछ ।
श्री ३ चन्द्रको शासन कालमा वि.स. १९६१ देखि तिथि लेख्ने पुरानो चलन हटाई गते लेख्ने चलन चलेको हो । त्यसै वर्षको फागुन संक्रान्ति कुनै पात्रोमा अगिल्लो दिन र कुनै पात्रोमा पछिल्लो दिन छापिएकोले अड्डाखानामा काम गर्दा असजिलो पर्न गएकोले श्री ३ चन्द्रले पण्डितको सभा गराई अवदेखि यस्तो नहोस् भनी पं. हेमराजशर्मालाई पञ्चाङ्ग संसोधन गराउने अभिभारा सुम्पियो । यसै बर्षदेखि पञ्चाङ्ग संसोधनको काम थालियो हेमराज अध्यक्ष भए पनि पञ्चाङ्ग सम्बन्धी सम्पूर्ण गणित हर्ने काम भने पंं. भुवननाथ पाण्डेको हातबाट हुन्थ्यो ।
वि.सं. २००८ सालको वी.डी.के.आ.शि. पण्डित नारयण शास्त्री भट्टद्वारा प्रकाशित पञ्चाङ्गमा पञ्चाङ्ग संशोधन व्यक्ति वा संस्थाको नाम छैन । वि.स. २००९ को पात्रोमा डायरेक्टर नयनराज पाण्डेका अध्यक्षतामा तात्कालिक गणितज्ञ र धर्मशास्त्रीहरुबाट पञ्चाङ्ग संशोधन भएको बुझिन्छ किनभने २०१८ सालको ज्यो.पं बाबु रामको पात्रोमा स्वयं बाबुरामद्वारा नै संशोधन भएको लेखिएको छ ।
वि.सं. २०१९ सालको पात्रोमा श्री ५ को सरकारको अनुमति अनुसार धर्मरक्षा महामण्डलीय पञ्चाङ्ग विवेचक समितिद्वारा निर्णीत गणित व्रतोत्सवादिले सुशोभित भएको पञ्चाङ्ग भन्ने उल्लेख पाइएकोले श्री माधव संशेर। उपाध्यक्ष पं. श्री पद्म प्रसाद भट्टराई , सचिव पं. श्री बुद्धि सागर पराजुली र ज्यो.प्रा.श्री नयराज पन्तद्वारा पञ्चाङ्ग संशोधन भएको देखिन्छ । वि.सं २०२१ को पञ्चाङ्गमा संस्था वा मुख्य संशोधनको नाम उल्लेख नभएकोले वि.संं. २०२१ देखि २०२५ सालसम्म को को विद्वानले पात्रो संशोधन गरे थाहा भएन ।
वि.सं २०२६ देखि २०३० सम्म नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिद्वारा पात्रोको संशोधन गर्ने खास संस्थाको नाम भेटिएन । २०३४ सालको पात्रोमा श्री ५ को सरकार शिक्षा विभागीय पञ्चाङ्ग निर्णायक समितिद्वारा निर्णाीत गणित व्रतपर्वादिले सहित भएको पात्रो भन्ने उल्लेख पाइन्छ ।
वि.सं. २०३५ देखि नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिद्वारा पात्रो संशोधन भएको थियो । २०३४ सालको पात्रोलाई हेर्दा पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षको नाताले पात्रो संशोधन गरी पञ्चाङ्गकर्तालाई पात्रो छाप्ने अधिकार दिने र संशोधित पात्रो प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गर्ने तथा पञ्चाङ्गमा केही शङ्का भए खलारुपमा अध्यक्षले हस्ताक्षर गर्ने चलन समेत प्रा.डा. मङ्गलराज जोशीद्वारा कयम भयो । प्रा.डा. मङ्गलराज जोशीले पञ्चाङ्ग संसोधन गर्ने कार्य वि.स. २०६१ को पात्रो सम्म चल्यो ।