नेपाल संवत् सम्वन्धी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको विज्ञप्ती
नेपाल संवत् को मिति लेख्दा निम्नलिखित कुराको आधारमा लेख्न सकिने छ ।
१. नेपाल संवत् कार्तिक शुक्ल प्रतिपदा तिथिबाट शुरू भई कार्तिक कृष्ण अमावस्या तिथिमा वर्ष पूर्ण हुन्छ ।
२. यसमा प्रत्येक महिना परेवा तिथिबाट शुरू भई औंसी तिथिमा पूर्ण हुन्छ ।
३. गतेको साथै तिथि लेख्नु पर्ने भएकोले कुनै पक्षमा एक/दुई तिथि टुट्ने(घट्ने) र कुनै पक्षमा एउटै तिथि बढी अर्थात दुई दिन पनि पर्न सक्दछ ।
४. तिथि संख्या १५।१५ दिनमा दोहोरिने हुन्छ ।
५. तिथि कहिले टुट्ने र कहिले बढ्ने हुँदा कहिले एउटै तिथि २ दिन लेख्नु पर्ने र कुनै तिथि लोप हुनेहुँदा दिन पक्डनका लागि बार पनि अनिवार्य लेख्नुपर्छ ।
६. साल लेख्दा कार्तिक शुक्ल परेवाबाट नेपाल सम्वत् ११४५ सुरू भएकोले अर्को सालको कार्तिक कृष्ण अमावस्यासम्म नै सोही संवत् हुन्छ ।
७. पक्ष लेख्दा कार्तिक शुक्ल पक्षलाई कछलाथ्व, मार्ग कृष्ण पक्षलाई कछलागा, मार्ग शुक्ल पक्षलाई थिंल्लाथ्व, पौष कृष्ण पक्षलाई थिंल्लागा, पौष शुक्ल पक्षलाई पोहेलाथ्व, माघ कृष्ण पक्षलाई पोहेलागा, माघ शुक्ल पक्षलाई सिल्लाथ्व, फाल्गुनकृष्ण पक्षलाई सिल्लागा, फाल्गुन शुक्लपक्षलाई चिल्लाथ्व, चैत्र कृष्ण पक्षलाई चिल्लागा, चैत्र शुक्लपक्षलाई चौलाथ्व, वैशाख कृष्णपक्षलाई चौलागा, वैशाख शुक्लपक्षलाई वछलाथ्व, ज्येष्ठ कृष्णपक्षलाई वछलागा, ज्येष्ठ शुक्ल पक्षलाई तछलाथ्वः आषाढकृष्ण पक्षलाई तछलागा, आषाढ शुक्लपक्षलाई दिल्लाथ्व, श्रावण कृष्णपक्षलाई दिल्लागा, श्रावण शुक्लपक्षलाई गुंलाथ्व, भाद्र कृष्णपक्षलाई गुंलागा, भाद्र शुक्लपक्षलाई ञँलाथ्व, आश्विन कृष्णपक्षलाई ञँलागा, आश्विन शुक्लपक्षलाई कौलाथ्व, कार्तिक कृष्णपक्षलाई कौलागा लेखिन्छ । अधिक मासमा शुक्लपक्षलाई अनलाथ्व र कृष्णपक्षलाई अनलागा भनिन्छ ।
८. तिथि लेख्दा परेवा लाई १, द्वितीयालाई २, तृतीयालाई ३, चौथीलाई ४, पञ्चमीलाई ५, षष्ठीलाई ६, सप्तमीलाई ७, अष्टमीलाई ८, नवमीलाई ९, दशमीलाई १०, एकादशीलाई ११, द्वादशीलाई १२, त्रयोदशीलाई १३, चतुर्दशीलाई १४ पूर्णिमालाई १५ र औंसीलाई ३० लेख्नुपर्दछ ।
९. २०८१ वैशाख १ गते देखि २०८१ चैत्र मसान्तसम्म (नेपाल संवत् ११४४ -११४५) को मितिका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
