जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व सम्बन्धमा समितिको विज्ञप्ति
वि.सं. २०८० सालको भाद्र १४ गते विहिवारको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व सम्बन्धमा समाजमा हाम्रो धर्मशास्त्र, संस्कृति र परंपरामा असर पर्ने गरी भ्रामक टीका टिप्पणी र प्रचार-प्रसार भएकोले जनमानसमा भ्रम सृजना भएको भन्ने जानकारी समितिमा आएको छ ।
यस सन्दर्भमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा धर्मशास्त्रीहरू र चाडपर्वविशेषज्ञहरूको उपस्थितिमा व्यापक छलफल गरी शास्त्रको मर्म र विद्वानहरूको राय मुताविक निर्णय भई स्वीकृत पञ्चाङ्गहरूमा उल्लिखित भाद्र १४ गते विहिवार पर्ने ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन हाम्रो धर्म, संस्कृति र परंपरा अनुकूल रहेको छ । अघिल्लो दिन पूर्णिमासँगै भद्रा रहेकाले १३ गते रात्रिमा ९ वजेर ३ मिनेटमा मात्र भद्रा सकिने हुँदा दिनमा रक्षाबन्धन गर्न मिल्दैन । रात्रिमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भोलिपल्ट नै गर्नु पर्ने देखिन्छ । हालसम्म रक्षाबन्धन र जनै पूर्णिमालाई अलग अलग गर्ने परम्परा पनि छैन र एकै दिन गर्ने गरेको नै नेपालको परम्परा रहेको देखिन्छ ।
यस वर्षको जस्तो तिथिहरूको अवस्था गतवर्षहरूमा पनि परेको थियो जस्तै वि.सं.१९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१, २०७० र २०७९ सालमा पनि परेको थियो । उक्त वर्षहरूमा १ घडीमात्र उदयपूर्णिमा भए पनि सोही दिन नै जनै पूर्णिमा मनाइएको पाइन्छ । धर्मशास्त्रमा विभिन्न मत भए पनि हाम्रो शाखासूत्र, अनुसार उदयव्यापिनी पूर्णिमा तिथिकै दिन उपाकर्म, रक्षाबन्धन आदि गर्ने हाम्रो परंपरासमेत रहि रहेको छ । भाद्र १४ गते का दिन पूर्णिमा तिथि को घट्यादि ३ मुहूर्त व्यापी छँदैछ । यसको अनुकल्प २ मुहूर्त भए पनि पुग्छ । विधि निषेधको न्यायद्वारा अगिल्लो दिन उक्त पर्वमनाउने विधि र भोलिपल्ट मनाउनै नहुने निषेध पनि देखिन्न । चार वेदका पनि अनेक शाखासूत्र भएकाले कतिपय निर्णय स्वशाखा सूत्रानुसार हुने गर्दछ । स्वशाखा सूत्रमा फरक परेमा आफ्नो शाखासूत्रानुसार गर्ने छुट पनि सवैलार्इ रहेको सूचना समितिवाट स्वीकृत सवै पञ्चाङ्गहरूमा उल्लेख नै छ ।
शास्त्रका निम्नलिखित वचनहरूले पनि उदयकाल पूर्णिमाको दिन नै उपाकर्म,रक्षाबन्धन आदि गर्नुपर्ने पुष्टि गर्दछ ।
संप्राप्तवान् श्रुतीर्ब्रम्हा पर्वण्यौदयिके पुनः ।
अतो भूतदिने तस्मिन्नोपाकरणमिष्यते ।।
– कालिकापुराण (नि.सि.पृ २४२)
ब्रम्हाजीले पूर्णिमाको उदयकालमा नै वेद पाएकोले पूर्णिमाकै उदयकालमा जनैपूर्णिमा मनाउनु पर्दछ । चतुर्दशीको उदयमा उक्त कर्म गर्नु हुँदैन ।
यदा तु पौर्णमासी वृध्दिस्तदा घटीमात्रसत्वेSपि परदिने रक्षाबन्धनम् ।
पूर्वदिवसे भद्रासंभवात् (—कृ.वा)
(अधिल्लो दिन भद्रा पर्ने भएकोले १ घडीमात्र भए पनि भोलिपल्ट उदय पूर्णिमाका दिन रक्षाबन्धन गर्नु पर्दछ ।)
भद्रायां न कर्तव्ये श्रावणी फाल्गुनी तथा ।
श्रावणी नृपतिं हन्ति ग्रामं दहति फाल्गुनी ।। (—नि.सि.२०४८पृ)
यो विशेष वचनका आधारमा पूर्णिमाको पूवार्धमा भद्रा भएकोले बिशेषरूपमा भद्रामा कुनै हालतमा पनि रक्षाबन्धन गर्नु हुदैन ।
रक्षाबन्धनस्य तु पूर्वदिने भद्रायोगात् उपाकर्म रक्षाबन्धनयोरङ्गाङिगभावस्य गृह निबन्धकाराद्यनभिमतत्वात् परेद्युरेव अनुष्ठानमिति निर्णयः ।
(—नि.सि व्याख्या दॏलतराम संपादित)
नकुर्यान्मङ्गलं विष्ट्यां जीवीतार्थी कदाचन ।
कुर्वन्नज्ञस्तदा क्षिप्रं तत्सर्व नाशतां व्रजेत् ।। (—मू.चि. शुभाशुभ प्रकरण, पीयूषधारा टीका)
भद्राको समयमा बाच्न चाहने व्यक्तिहरूले कुनै पनि माङ्गलिक कार्य गर्नुहुँदैन ।
उपर्युक्त वचन अनुसार वि.सं. २०८० भाद्र १४ गते को जनै पूर्णिमामा दुई मुहूर्त न्यून पूर्णिमा न भई तीन मुहूर्त व्यापिनी अर्थात् ५ घटि १८ पला पूर्णिमा भएकोले पूर्वदिनमा उपाकर्मादि कृत्य गर्नु शास्त्रसम्मत देखिन्न । उपाकर्म र रक्षाबन्धनलाई अलग अलग कृत्यको रूपमा स्वीकार गर्ने हाम्रो परंपरा पनि छैन । अतः उदय पूर्णिमाकै दिन अर्थात् भाद्र १४ गते गुरूवारका दिन नै जनैपूर्णिमा सित सम्वन्ध सम्पूर्ण कृत्यहरू गर्न शास्त्र सम्मत र परम्परानुमोदित विषय देखिन्छ ।
यसकारण कुनै भ्रममा नपरी पञ्चाङ्गमा उल्लेख भए अनुसार वि.सं. २०८० भाद्र १४ गते गुरूवार नै उपाकर्म, ऋषितर्पणी, रक्षाबन्धन आदि श्रावणी पर्व र गाईजात्रापर्व पनि मनाउन यो समिति सबैमा हार्दिक अनुरोध गर्दछ।